आवरउदयपुर,भदौ २३ ।
उदयपुरको उदयपुरगढी गाउँपालिकाका ४ वटा वडाका स्थानीयबासी व्यवसायिक कृषि खेतीतर्फ आकर्षित भएका छन् ।
परम्परागत कृषि प्रणालीलाई अवलम्बन गर्दै सामान्य तरकारी, फलफुल, धान, मकै उत्पादन गर्दै आएका वडानं २,५,६,७ र ८ का स्थानीयहरु हिजोआज प्रविधिको उपयोग गर्दै व्यवसायिकतर्फ अग्रसर देखिएका हुन् ।
निर्वाहमुखी उत्पादनले दैनिकजीवनयापनमा परिवर्तन नआएपछि सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोग तथा परामर्शमा किसानहरुले व्यवसायिक बाटो रोजेको गाउँपालिकाका उपाध्यक्ष जितबहादुर खड्काले बताए ।
किसानले वजारको माग अनुसार मौसमी र वेमौसमी तरकारी, फलफुलहरु उत्पादन सुरु गरेको उनले बताए । उत्पादित बस्तु गाउँपालिकाका बजारहरुमा खपत हुने गरेको किसानले बताएका छन् ।
उपाध्यक्ष खड्काले भने, ‘पालिकाको योजनाले मात्र सम्भंव नरहेकाले चार वटा वडामा सहयोगी हातहरुको समुह (साहास नेपाल)सँगको सहकार्यमा किसानलाई व्यवसायतर्फ जोड्न सुरु गरेका हौ । ‘खेतीयोग्य जमिन छ, जे लगायो त्यहीँ हुन सक्ने ठाउँ छ, तर पनि हामी मेहनत गरेर खान अल्छी गरिरहेका छौ, खड्काले भने, ‘आफ्नो वारीमा केहि लगाउन सधै सरकारले सहयोग गर्ला र केहि गर्छु भन्ने धारणा गाउँघरमा अझै पनि छ, त्यसलाई चिर्न र व्यवसायमा रुची बढाउन संस्थासँग समन्वय गरेका हौ ।
उक्त वडाहरुमा संस्थाले ९ सय ३ जनालाई लक्षित गरी ३५ वटा समुहमार्फत सचेतनासँगै कृषिको आधुनिकिरण र उत्पादनमा जोड दिएको परियोजना संयोजक साहारा सिग्देलले बताईन् । उनले भनिन्, ‘किसानका सानातिना सिचाई समस्याको समाधान, खेर गएको पानीको सदुपयोग, विउँविजन, उत्पादन, व्यवसायिकिकरण, खाद्य सुरक्षालगायतका क्षेत्रमा काम गरिरहेका छौ ।
संस्थाले जर्मन सरकारको सहयोगमा स्थानीय प्रयासमा खाद्य सुरक्षा रुपान्तरण परियोजनामार्फत कृषि, स्वास्थ्य, जलवायुको क्षेत्रमा किसानका अवश्था, आवश्यकता र औचित्यको सम्भाव्यता अध्ययन गरी क्रियाकलापहरु गर्ने गरेको उनले बताईन् ।
तीन बर्षसम्म सञ्चालन हुने उक्त परियोजनाले कार्यक्षेत्रका कुपोषित बालबालिकालाई सुपोषित बनाउने, कृषिलाई पूर्णरुपले व्यवसायिकिकरण, खाद्य सुरक्षा, नश्ल सुधार, विउँ बोका वितरण, अदुवा खेती, कृषि संकलन केन्द्र स्थापना कामलाई पोत्साहन दिईने कार्यक्रम अधिकृत बेलकुमार सुन्दासले बताए ।
परियोजना सञ्चालन भएसँगै स्थानीय भने उत्साहित भएका छन् । परम्परागत खेतीबाट दुई छाक गर्जो टार्नसमेत मुस्किल भएको बेला आफुले खाएर केहि रुपैँया आम्दानीसमेत गर्न सफल भएको उनीहरुको भनाई छ ।
स्थानीय उर्मिला मगर भन्छिन्, ‘प्रायः घरका सानातिना समस्या महिलामा निर्भर हुन्छ, आम्दानीको स्रोत नहुँदा अभिभावकसँगै हात फैलाउनु पर्ने अवश्था थियो, अहिले त्यसको अन्त्य भएको छ । ‘छोराछोरीको कितावकपी, आफुलाई सिन्दुरपोते किन्न, सामान्य व्यवहार टार्न अहिले समस्या छैन्, उनले भनिन्, ‘व्यवसायिक कृषि खेती भर्खर सुरु गरेका छौ यसलाई निरन्तरतादिँदा व्यवहार चलाउन र आम्दानीको स्रोत बढाउन समस्या देखिन्न ।
कार्यक्रम अधिकृत सुन्दासले ताप्लि गाउँपालिकामा तीन बर्षसम्म निरन्तर कार्यक्रम सञ्चालन गरी पुनः वेलामौकामा सहयोग गर्ने गरी सञ्जाल निर्माण गरी उदयपुरगढी गाउँपालिकामा प्रवेश गरेको बताए । यसकासाथै बेलका नगरपालिकामा कृषि वन कार्यक्रम सञ्चालनमा रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय