आवरउदयपुर,भदौ २२ ।नेकपा एमालेका नेता हिक्मतकुमार कार्की आज मुख्यमन्त्रीमा नियुक्त हुँदै सपथ लिँदैछन् ।
मुख्यमन्त्रीमा सपथसंगै कार्कीले दुई जना प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गर्न तयारी पनि गरेका छन् ।
झापाका एकराज कार्की र ताप्लेजुङका तिलकुमार मेन्याङ्बोलाई मन्त्री नियुक्त गर्ने कार्कीको तयारी छ । कार्कीको सरकारमा राप्रपा भने सहभागी नहुने बताइएको छ ।
९३ सदस्यीय कोशी प्रदेशसभामा सबैभन्दा बढी उपसभामुखसहित ४० सदस्य एमालेको छ । कार्कीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ । त्यो अवस्थामा उपसभामुखले मतदान गर्न नपाउने भएकोले कार्कीको पक्षमा ३९ सांसद मात्र हुने सम्भावना छ ।
प्रदेशसभामा कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सांसद छन् ।
प्रदेशसभाको पहिलो कार्यकालमा ३ वर्षभन्दा धेरै आन्तरिक मामिला तथा कानूनमन्त्री रहेका कार्की गत मंसिरमा भएको निर्वाचनपछि पुस २४ गते माओवादी केन्द्र, राप्रपा र जसपासमेतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेर असार १५ गते उनी पदमुक्त भएका थिए ।
विश्वासको मतका लागि प्रदेशसभामा मतदान हुँदा कार्कीको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको थियो । विश्वासको मत प्राप्त गर्न ४७ मत आवश्यक पर्दछ ।