आवरउदयपुर,भदौ १८ ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको नयाँ कार्यसमितिका लागि भइरहेको चुनावमा पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको छ।
अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित पाँच जना पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको निर्वाचन मण्डलका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए ।
निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार अध्यक्षमा निवर्तमान अध्यक्षसमेत रहेका पाल्पाका राधाकृष्ण कँँडेल र प्युठानका हरि रिजालको उम्मेदवारी परेको छ।
उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ, रूपन्देहीकै अनुप बराल र बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वलीले उम्मेदवारी दिएका छन्।
सचिव पदका लागि दुईजनाको उम्मेदवारी परेको छ। सचिवमा दाङका लक्ष्मण आचार्य र गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी दिएका छन्।
महिला एकजना उपसचिव पदमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बर्दियाकी लिला रानाले उम्मेदवारी दिएका छन्।
त्यस्तै पुरुषतर्फ एक उपसचिव पदमा रूकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मिका हिरा एसिले उम्मेदवारी दिएका छन्।
शनिबारदेखि सुरू भएको अधिवेशनमा सहमतीको प्रयास असफल भएपछि निर्वाचनबाट नेतृत्व चयनको प्रक्रिया अगाडि बढेको हो । अधिवेशनबाट ५ पदाधिकारीसहित २ सय ५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ ।