आवरउदयपुर,भदौ १३ ।
पाकिस्तानको मुल्तानमा आजदेखि सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली गायिका त्रिशला गुरुङले प्रस्तुति दिने भएकी छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाकिस्तान र पहिलो पटक एसिया कप खेलिरहेको नेपालबीच हुनेछ । उद्घाटन खेल नेपाली समयअनुसार, दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

उद्घाटन समारोह नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुने बताइएको छ । प्रतियोगिताको उद्घाटन समारोह धेरै लामो नहुने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन समारोहमा पाकिस्तान र नेपालका एक–एकजना गायिकाले आफ्नो प्रस्तुति दिन पीसीबीले जनाएको छ । उद्घाटन समारोहमा नेपाली गायिका गुरुङ र पाकिस्तानी गायिका आइमा बेगले प्रस्तुति दिने भएका छन् ।

आइमा पाकिस्तानकी चर्चित गायिका हुन् । इन्स्टाग्राममा उनको ६० लाखभन्दा बढी फलोअर छन् । नेपाली गायिकाका त्रिशालाको भने इन्स्टाग्राममा दुई लाख ३९ हजार फलोअर रहेका छन् । यसका अतिरिक्त अन्य केही कलाकारले पनि उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिने पीसीबीले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन समारोहमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष रोजर बिनी र उपाध्यक्ष राजिव शुक्ला पनि उपस्थित हुने पीसीबीले जनाएको छ ।

एसिया कपमा ६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल र पाकिस्तानसँगै भारत पनि रहेको छ । समूह ‘बी’ मा भने श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर