आवरउदयपुर,भदौ ११ ।
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपालाई पुष्पकमल दाहाल प्रचण्डले फुटाएको आरोप लगाएका छन् ।
सोमबार काठमाडौंमा एमालेका जनप्रतिनिधिहरुसँगको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले अदालतले नेकपा विभाजन गरिदयो भन्ने गलत भाष्य बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाए ।
अदालतले नेकपा नाम पहिले नै दर्ता गरिसकेको हुँदा अर्को नाम दर्ता गर्न आउन भनेको भएपनि प्रचण्ड तयार नभएर पार्टी विभाजन भएको उनको दाबी छ ।
‘तत्कालिन नेकपा अदालतले फुटाएको होइन, प्रचण्डले फुटाएको हो,’ उनले भने, ‘अदालतले नाम अर्कैसंग मिलेपछि अर्को नाममा दर्ता गर भनेको थियो । तर त्यही निहुँ पारेर प्रचण्ड कम्युनिस्ट पार्टीलाई टुक्र्याएर भागे ।’
ओलीले निर्वाचन आयोगले पनि पार्टी फुटाउनका लागि माधव नेपाललाई मद्दत गरेको आरोप लगाए । एमालेलाई कमजोर पारेर सिध्याउने उद्देश्यका साथ नेकपा विभाजन गरिएको उनले बताए ।