आवरउदयपुर,भदौ २ ।
सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ । भ्रष्टाचारका ठूला घटनामा अनुसन्धान गरिरहेका एआईजीहरुलाई हटाउन सरकारले सरुवाको डण्डा चलाएको छ ।
हिजो (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवालीसहितका एआईजीहरुलाई सरुवा गरेको हो ।
ज्ञवालीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थप जाहेरी लिएर दोस्रो चरणको अनुसन्धान सुरु गर्नै लाग्दा उनलाई सरुवा गरिएको छ ।
उनलाई सरुवा गर्न सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष दबाब दिएका थिए ।
ज्ञवालीको उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको साढे ४ महिना मात्र भएको थियो । उपत्यका प्रहरी प्रमुखमा प्रशासन विभागका प्रमुख दिपक थापाको सरुवा भएको छ ।
देउवाले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीलाई पनि हटाउन दबाब दिएको बताइएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी टेकप्रसाद राईको मानवस्रोत विभागमा सरुवा भएको छ ।
राईले पनि आफूलाई छोटो समयमा विना कारण हटाउन खोजिएको भन्दै यसअघि नै प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसमक्ष असन्तुष्टि व्यक्त गरेका थिए ।
राई प्रतिआतंकवाद र अन्तरदेशीय संगठित अपराध अनुसन्धानमा काम गर्ने प्रहरीको गुप्तचरी निकाय विशेष ब्यूरोमा लामो समय काम गरेका अधिकृत हुन् ।