आवरउदयपुर,साउन १८ ।
एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग गरिरहेका बेला सरकारले त्यो आवश्यक नरहेको बताएको छ ।
सरकारका प्रवक्ता मन्त्री रेखा शर्माले बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा छानबिन राजस्व अनुसन्धान विभागमार्फत नै प्रभावकारी भइरहेको भन्दै अर्को समिति आवश्यक नभएको बताइन् ।
उनले यस प्रकरणमा अनुसन्धानका लागि अर्को समिति बनाउँदा अहिले भइरहेको अनुसन्धान पनि प्रभावित हुने बताइन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरण अनुसन्धानका लागि नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ ।
उसले सरकारी अनुसन्धानमा शंका रहेको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गर्न माग राखेर संसद बैठक अवरुद्ध गरिरहेको छ ।
मन्त्री शर्माले सरकारले गरेको अनुसन्धान प्रभावकारी हुँदैन कि भन्ने आशंका भए केही समय पर्खिएर हेर्न समेत आग्रह गरिन् । विगतमा ३३ किलो सुन तस्करी प्रकरणमा पनि उच्च स्तरीय समिति नबनेको उनले बताइन् ।