आवरउदयपुर,साउन १५।
मधेस प्रदेश मन्त्रिपरिषद आज (सोमबार) पाँचौ पटक मन्त्रिपरिषद् विस्तार हुँदैछ ।
मुख्यमन्त्री सरोजकुमार यादवले आज मधेस प्रदेश सरकारमा रिक्त दुई मन्त्रालयमध्ये कांग्रेसबाट एक मन्त्रीलाई नियुक्त गर्दैछन् भने बिना विभागीय बनाइएकी जसपाका एक मन्त्रीलाई जिम्मेवारी दिँदैछन् ।
कांग्रेसबाट मोहम्मद समिम गृह, सञ्चार तथा कानुन मन्त्री बन्ने भएका छन् भने बिना विभागीय मन्त्री सुरिता साह (जसपा) श्रम तथा यातायात मन्त्री बन्ने निश्चित भएको छ ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीका अनुसार सोमबार नै उनीहरुलाई मन्त्रिपरिषदमा जिम्मेवारी तोकेर अपराह्न ५ बजे शपथ ग्रहणको तयारी भइरहेको छ ।
यसअघि जनमत पार्टीबाट मन्त्री बनेका बसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले सोमबार नै राजीनामा दिएका छन् । उनीहरूलाई पछिल्लो समय बिना विभागीय भूमिकामा राखिएको थियो ।
जनमतका नेता बीपी साहका अनुसार पार्टीका प्रमुख सचेतक चन्दन सिंह र राज्यमन्त्रीका रूपमा मञ्जु खंगलाई सरकारमा पठाउने तयारी छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार अग्रहरीले भने जनमतबाट अहिले मन्त्री बनाउनेबारे टुङ्गो भइनसकेको बताएका छन् ।