
आवरउदयपुर,साउन १४। निर्वाचन आयोगले निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद त्यसविरुद्ध अदालत पुगेका छन् ।
निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई १५ हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध उनीहरुले उच्च अदालत पाटनमा रिट दिएका हुन् ।
रास्वपाका सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुली र सोबिता गौतमले रिटमा निर्वाचन खर्च विवरण सार्वजनिकको दाबी पनि गरेका छन् ।
गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै २४ सयभन्दा बढी उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।
निर्वाचन आयोगले प्रक्रिया पूरा नगरी कारबाही गरेको उनीहरुको रिटमा उल्लेख छ । उनीहरुले आफूहरुलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय, पत्राचार र प्रेस विज्ञप्ति गैरकानुनी, स्वेच्छाचारी, अतार्किक र प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएकाले त्यसलाई बदर गर्न माग गरिएको छ ।