आवरउदयपुर,साउन १३।
रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र रामकुमार महतो अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीबीच एकीकरण हुने भएको छ ।
भोलि (आइतबार) जनकपुरमा एक कार्यक्रमको आयोजना गरी दुवै पार्टीबीच एकीकरण हुन गइरहेको नेपाल सद्भावन पार्टीका अध्यक्ष रामकुमार महतोले बताए ।
केही दिनदेखि दुई पार्टीको बीचमा पार्टी एकीकरणको विषयमा छलफल चलिरहेको थियो । एक वर्षपछि एकताको महाधिवेशन गर्ने र त्यसमा छलफल गरेर नाम र पार्टीको झण्डालगायतको विषय टुङ्गो लगाउने दुई पक्षको बीचमा सहमति भएको छ ।
नेपाल सद्भावना पार्टीले तत्काल उपाध्यक्ष, सचिव, सहसचिव एक–एक जना र २१ जना केन्द्रीय सदस्य पाउने छ ।
सद्भावना पार्टीले मधेश प्रदेशको अध्यक्ष पनि पाएको छ भने लुम्बिनी र कोशी प्रदेशमा आपसी सहमतिमा समायोजन गरी प्रदेश समिति बनाउने सहमति भएको बताइएको छ । सद्भावना पार्टीले धनुषा र महोत्तरीको जिल्ला अध्यक्ष पनि पाएको छ ।