
आवरउदयपुर, साउन ७
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी साधन अनुमति पत्रको (स्मार्ट लाइसेन्स) समस्या चाँडै समाधान गर्ने बताएका छन् ।
आइतवार सार्वजनिक सवारीसाधनमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले लाइसेन्स स्मार्टकार्डको समस्या चाँडै समाधान गर्ने र स्मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताए ।
उनले यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरिसकेको बताए । उनले इम्बोस्ड नम्बर प्लेट जडान गर्नेकुरामा पनि बेवास्ता गर्नु नहुने बताए ।
ज्वालाले यातायात व्यवस्था कार्यालय, विभागमा झन्झट व्यहोर्नु नपर्ने, दुःख पाउनु नपर्ने कुरामा सरकारले पहल गरिरहेको बताए । उनले सार्वजनिक यातायातमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको शुरुवात हुनु महत्वपूर्ण रहेको बताए ।
चालक, सहचालकहरुले राम्रो व्यवहार र बोलीले नै यात्रुहरु खुशी हुने भन्दै यस अभियानले यात्रुमैत्री सार्वजनिक यातायात हुने अपेक्षा लिएको बताए ।