आवरउदयपुर,असार २६
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का नेता एवम् मधेस ट्रेड युनियन महासङ्घ नेपालका अध्यक्ष पल्टन ठाकुर जनमत पार्टीमा प्रवेश गरेका छन् ।

आफू पार्टीको कारबाहीमा पर्ने देखेपछि लोसपा छोडेर जनमतमा प्रवेश गरेको बताइएको छ । स्विजरल्याण्डको जेनेभामा आयोजित ‘अन्तर्राष्ट्रिय श्रम सम्मेलन’ मा सहभागी हुन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग गएका मधेस ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य कुलबहादुर खड्का उतै हराएपछि अध्यक्ष ठाकुर विवादमा तानिएका छन् ।

महासंघका अध्यक्ष ठाकुरले सम्मेलनमा सहभागी हुनका लागि मजदुर नेताको रूपमा खड्कालाई सिफारिस गरेका थिए । सम्मेलनमा सहभागी हुन गएका उनी हालसम्म फर्केका छैनन् ।

लोसपाका नेता समेत रहेका अध्यक्ष ठाकुरले खड्कासँग १२ लाख रुपैयाँ लिएर भ्रमण टिममा सहभागी गराएको आरोप छ । मन्त्री भण्डारीले अध्यक्ष ठाकुरले गलत काम गरेको बताए ।

सम्मेलनमा गएको व्यक्ति अझै नफर्केको बारेमा छानबिन भइरहेको दोषीमाथि कारबाही हुने बताउँदै मन्त्री भण्डारीले बताए ।

तर अध्यक्ष ठाकुरले भने आफूले सिफारिस मात्रै गरेको दाबी गरेका छन् । पैसा खाएर सिफारिस गरेको कुरा गलत भएको उनको जिकिर छ ।

काँग्रेसबाट राजनीति सुरु गरेका उनी पार्टी छाडेर तत्कालिन मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए । तर त्यहाँ पनि टिक्न नसकेर राजेन्द्र महतोको तत्कालिन सद्भावना पार्टीमा प्रवेश गरे । राजेन्द्र महतोसँगै लोसपासँग पुगेका ठाकुर अहिले पार्टी छाडेर जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय