
आवरउदयपुर,असार २२
कोशी प्रदेशमा गैरसंवैधानिक ढंगमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई बिहीबार असंवैधानिक ढंगमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै एमालेले आज (शुक्रबार) सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको हो ।
एमालेले सर्वोच्चमा दिएको रिटमा सभामुखसमेतलाई जोडेर गठबन्धनले दाबी पेश गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न माग गरिएको छ ।
संविधानको धारा १६८ को उपधारा २ मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
थापालाई चार दलको समर्थन भए पनि बहुमत नपुग्ने भएपछि सभामुख बाबुराम गौतमको अलग्गै हस्ताक्षर गरेर चार दल र सभामुखको समर्थन देखाउँदै प्रदेश प्रमुखसमक्ष दाबी पेश भएको थियो ।