जेष्ठ १४ उदयपुर /स्थानीय तहमा निर्वाचित एकल महिलालाई मानव अधिकारका लागि महिला एकल महिला समुहले सम्मान गरेको छ । सदरमुकाम गाईघाटमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई प्रशंसा पत्र र दोसल्लाले सम्मान गरिएको हो ।
प्रतिकुल समयमा पनि एकल महिलाको क्षेत्रबाट प्रतिनिधित्व गरेकोमा थप हौसला र जनता प्रति उत्तरदायि बनाउन सम्मान गरिएको अध्यक्ष शोभा दहालले बताईन् । उनले भनिन्, ‘अझै पनि सामाजिक रितिरिवाज र कुसंस्कारको चपेटामा एकल महिला छन्, तसर्थ उनीहरुलाई खुल्ला समाज र परिवेशमा प्रस्तुत हुन् र निर्वाचित जनप्रतिनिधिलाई हौसला प्रदान गर्न सम्मान कार्यक्रमले सहयोग पुग्ने छ ।
कार्यक्रममा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले एकल महिला अझै पनि सामाजिक विभेदमा रहेकाले उनीहरुलाई संगठित गर्दै एकल महिलाको अभियानलाई सार्थक तुल्याउने बताईन् । एकल महिला विरुद्ध हुने जुनसुकै विभेदको अन्त्य गर्न नगरपालिका सहकार्य गर्न तयार रहेको बताईन् ।
त्यसैगरी सामाजिक अभियन्ता तथा एमाले नेतृ सृजना दनुवारले समाजमा अहिले पनि एकल महिला प्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएको बताईन् । उनले राजनीति आश्था र विचार प्रवाहकैकारण एकल महिलालाई समाजमा खुल्न सहज बन्दै गएको बताईन् । सोही अवसरमा निर्वाचित मेयर, उपमेयर, वडाध्यक्षलाई वधाई तथा शुभकामना दिइएको थियो ।
अध्यक्ष दहालको अध्यक्षता, सचिब कल्पना ढकालको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, त्रिनपा वडानं १० का अध्यक्ष किरण पाण्डे, गैसस महासंघका प्रदेश सदस्य सुमन परियार, जिल्ला अध्यक्ष सृजना पौड्ेल, महिला मानव अधिकार रंक्षकका अध्यक्ष माया भण्डारी, ओरेक नेपालका सचिब सविता पराजुली, रेडियो उदयपुरका स्टेशन मेनेजर बन्दना दनुवार, सामाजिक अभियन्ता नजवुल खान लगायतले बोलेका थिए ।
बोल्ने वक्ताहरुले महिला सन्तान उत्पादन गर्ने भण्डार मात्र नभई नेतृत्व लिन सक्ने क्षमता महिलामा रहेकाले अवसर वाँडफाँड गरेर जानु पर्ने बताए । उनीहरुले एकल महिलालाई माया र विचारमात्र नभई काम गर्ने अवसर आजको आवश्यकता भएको बताए । कार्यक्रमको समापन गर्दै अध्यक्ष दहालले बाँकी सबै स्थानीय तहमा कार्यक्रमको आयोजना गरिने बताईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय