काठमाडौं– पछिल्लो मन्त्रिपरिषद् पुनर्गठनमा नपरेपछि चिढिएका व्यापारिक पृष्ठभूमिका सांसद मोतिलाल दुगडलाई फकाउन प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका दुगडलाई पछिल्लोपटकको मन्त्रिमण्डल पुनर्गठनमा ओलीले कुनै मन्त्रालय दिएका थिएनन् ।
दुगड बाहिरिएपछि उनीमात्रै नभएर नेपालको ठूला व्यवसायमा पकड राख्ने मारवाडी समुदायनै चिढिएको ठानेर प्रधानमन्त्रीले उनलाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरको ओलीनिकट स्रोतको भनाइ छ । प्रधानमन्त्री ओली आफूनिकट व्यक्ति कुनै न कुनै रुपमा सार्वजनिक ओहोदामा राखिराख्न चाहने नेताको रुपमा चिनिन्छन् ।
यसअघि उनले आफूले रुचाएका व्यक्ति युवराज खतिवडालाई मन्त्री नियुक्त गर्न नपाएपछि विशेष आर्थिक सल्लाहकार बनाएका थिए । पछि खतिवडालाई ओली सरकारले अमेरिकाका लागि राजदूत बनाएर पठाएको छ ।
मन्त्री हटाइएको दुगडलाई पुस २९ गतेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो । नेकपाभित्रको विवादले पार्टी फुट्ने अवस्था आएपछि दुगडलाई राज्यमन्त्रीबाट हटाएर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुर्नगठन गरेका थिए ।
दुगडलाई अवैतनिक विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको मुख्य सचिव शंकरदासले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । अवैतनिक सल्लाहकारले तलब, भत्ता पाउँदैन् ।