उदयपुर
उदयपुरका औषधि व्यवसायिबाटै लागुऔषध विक्री वितरण हुने गरेको तथ्य खुलेको छ । बिहीबार औषधि व्यवस्था विभाग बिराटनगरको टोलीले जिल्लाको पुर्वि क्षेत्र चौदण्डिगढी र बेलका नगरपालिकाका औषधि पसलमा छड्के चेकगर्दा यस्तो तथ्य फेला परेको हो ।
चेकजाँचमा नेपाल औषधि व्यवसायि संघका उदयपुरका महासचिब विरेन्द्रकुमार झाले सञ्चालन गरेको फार्मेसीबाट लागुऔषधसँग सम्बन्धि विभिन्न औषधिहरु मिसाएर सेवनकर्तालाई विक्रीवितरण गरेको फेला परेको विभागका प्रमुख संजिव कटेलले जानकारी दिए ।
चौदण्डिगढी नगरपालिका ९ स्थित गोपिकृष्ण मेडिकल सञ्चाल गर्दै आएका झाले ट्रामाडोल, डिसाइक्लोमिन र प्रेगावालिन औषधि मिसाएर लागुऔषध बनाउने र सेवनकर्तालाई विक्रीवितरण गर्ने गरेको फेलापरेको उनले बताए । यसरी बनाएको औषधि सेवन गर्दा लामो समयसम्म नसा दिने, झुम झुम भईरहने, एकोहोरिने जस्ता लक्षण देखिने कटेलले बताए ।
उनले भने, ‘विभिन्न थरीका औषधि मिसाएर लागुऔषध बनाई बिद्यालय क्याम्पस पढ्दै गएका १५÷१६ बर्ष उमेरका किशोरलाई विक्री गरेको भन्नै उजुरी परेकाले छड्के चेकजाँच गर्दा पुष्टि भएको हो । झालाई एक बर्षअघि पनि विभागले यहीँ घटनामा पक्राउ गरी २५ दिन कार्वाही गरी छाडेको थियो ।
पुनः दोहोरिएकाले औषधि ऐन २०३५ अनुसार थप हदैसम्मको कार्वाही गरिने प्रमुख कटेलले बताए । टोलीले उनको फार्मेसी सिल गरी पाँच दिन भित्र विभागमा हाजिर हुने गरी पत्राचार गरेकोछ । टोलीले बिहीबार नै विना इजाजत, तोकिएको जनशक्ति वेगर र मापदण्ड विपरित सञ्चालन गरिएका थप पाँच वटा औषधि पसलमा सिल गरेको छ ।
डेढ दर्जन औषधि पसलमा गरिएको चेकमा ६ वटामा सिल गरिएको उनले बताए । त्यसक्रममा टोलीलाई देखेपछि पसल बन्द गरी फरार भएका तीन वटालाई प्रहरीमार्फत पत्र काटिएको कटेलले बताए । टोलीले तोकिएको जनशक्ति विना र नविकरण नगरी सञ्चालन गरिएको बेलका नगरपालिका ४ संजिवनी मेडिकल, सोही ठाउँमा विना दर्ता सञ्चालित यादव मेडिकल, ठाउसारी र जनशक्ति वेगर सञ्चालित सोही ठाउँको वारहा क्षेत्र फार्मेसीलाई सिल गरिएको छ ।
त्यसैगरी रामपुर सामुदायिक अस्पताल नजिक रमानन्द यादवले दर्ता नगरी सञ्चालन गरेको नाम वेगरको औषधि पसल र सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरस्थित अनुकुल औषधि पसलसमेत सिल गरिएको छ । जनशक्ति नभएको र एलोपेथिकको अनुमति लिएर आयुर्वेदिकलाई प्राथामिकता दिइ धेरै औषधि विक्री गरेको फेला परेपछि अनुकुललाई सिल गरिएको उनले बताए ।
कोभिड–१९ को परिस्थितिमा सरकारको उपस्थिति कम हुँदा औषधि पसलले जथाभावि औषधिको मुल्य बढाएको, विक्री गरेको, लागुऔषधको कारोवार गर्ने गरेका विभागमा उजुरी परेका कारण छड्के चेकजाँचलाई तिव्रता दिएको उनको भनाई छ । चेकजाँचलाई थप प्रभावकारी बनाउँदै अन्य ठाउँमा पुगिने उनले बताए ।
जो अगुवा उहीँ बाटो विराउने भन्ने नेपाली उखानलाई आत्मसाथ गर्दै समाजका युवामा विकृति ल्याउने यस्ता व्यक्तिलाई हदैसम्मको कार्वाही गर्न स्थानीयको माग छ । एउटा जिम्वेवार नेटवर्कको महासचिबबाट गरिएको गैरजिम्वेवारी कार्यलाई कुनै पनि हालतमा क्षमा दिन नसकिने स्थानीय को भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय