सङ्खुवासभा
सङ्खुवासभा जिल्ला अस्पताल खाँदबारीलाई ७ लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको छ । कोरोना भाइरसको दोस्रो चरणको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेकोले जिल्ला अस्पताल खाँदबारीमा अत्यावश्यक स्वास्थ्य सामग्री अभाव भएको थियो । बिरामीको अत्यधिक चाप बढीरहेकोले अस्पतालमा अत्यावश्यक स्वास्थ्य सामग्र्रीको अभाव भएपछि सेवा प्रवाहमा समस्या भएको र सामग्री प्राप्त भएसंगै सहज भएको छ ।
संघिय सरकारको स्वास्थ्य सेवा विभाग अन्र्तगत ७ लाख रुपैँयाभन्दा बढी रकम बराबरको स्वास्थ्य सामग्री संघिय सांसद राजेन्द्र गौतमको पहलमा जिल्ला अस्पताल खाँदबारी आइपुगेको अस्पतालका प्रशासन शाखा प्रमुख दिपेश श्रेष्ठले जानकारी दिनुभयो । विभागबाट एन्टीजेन्ट टेष्ट किट ५०० थान, बेडसिट सेट १५ थान, अक्सिजन मेसिन २ थान, पिपिइ सेट ५० थान, पल्स अक्सिमिटर ३ थान, माक्स १०० थान, सेनिटाइजर २० लिटरलगायतका सामग्री प्राप्त भएको जनाएको छ । अस्पतालमा उक्त सामग्रीको अभाव भएपछि विरामीको उपचारमा कठिन हुने भएकोले जिल्ला अस्पताल खाँदबारीले संघिय सरकारमा स्वास्थ्य सामग्री माग गरेको अस्पताल प्रमुख श्यामसुन्दर झाले बताउनुभयो ।
त्यसैअनुसार सांसद राजेन्द्र गौतमको पहलमा संघिय सरकारको स्वास्थ्य सेवा विभाग बाट रकम सहयोगमा स्वास्थ्य सामग्री पाएपछि विरामीको उपचारमा निकै सहज हुने अस्पताल प्रमुख श्यामसुन्दरझा को भनाइ छ । बिहिवार साँझ स्वास्थ्य सामग्री अस्पतालमा आइपुगेपछि सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँको भनाई छ ।