तुलसी निरौला, झापा
झापा र इलामका माछा पोखरीमा पंगास माछाको भुराको माग बढेपछि नेपालमा प्रतिबन्धित पंगास माछाको भुरा तस्करीको माध्यमबाट नेपाल भित्रिने क्रम बढेको छ।
काेराेना संक्रमणको जोखिम बढेपछि सरकारले सीमा नाका सिल र निषेधाज्ञा जारी गरेपनि तस्कर समूहले अवैध रुपमा माछाको भुरा भित्र्याइरहेकाे पाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भद्रपुरबाट गएको प्रहरीले दुई क्वीन्टल पंगास माछाको भुरासहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको हाे।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भद्रपुरबाट गएको सशस्त्रको टोलीले बिशेष सूचनाको आधारमा मेची राजमार्गको चारआली–केचना सडक खण्ड अन्तरगत भद्रपुर–४स्थित झिलमिलिया पुल नजिकैबाट मे १ च ४१३४ नम्बरको रातो प्लेट भएको गाडीमा माछाको भुरा फेला पारि बरामद गरेको हो ।
कचनकवल नाकाबाट अवैध रुपमा भित्र्याइएको माछाको भुरा लोड गरिएको गाडी बिर्तामोडतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको वीओपी भद्रपुरका इन्स्पेक्टर बिभुराज दाहालले जानकारी दिए । बरामद गरिएको माछाको भुराको नेपाली बजार मूल्य साढे चार लाखभन्दा बढी रहेको उनले बताए।
माछाको भुरालाई अस्थायी पशु क्वारेन्टाइन चेक पोस्ट भद्रपुर, नेपाल प्रहरी, स्थानीय र पत्रकारको रोहबरमा नष्ट गरिएको र नियन्त्रणमा लिएकाे गाडीलाई आवश्यक कारबाहीका लागि ७ लाख ९० हजार मूल्याङ्कन तोकेर भद्रपुर भन्सार कार्यालय बुझाइसकेको इन्स्पेक्टर दाहालले बताए ।
यसअघि १५ दिनको अवधिमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेडक्वार्टर झापाबाट सप्रसनि रमेश कुँवर नेतृत्वको टोलीले दुईपटक गरी साढे चार क्विन्टल पंगास माछाको भुरासहित दुई वटा गाडी नियन्त्रणमा लिइसकेको छ गत बैशाख ३१ गते गौरीगञ्ज गाउँपालिका–५ बाट मे १ ज १९०८ नम्बरको छोटा हात्ती गाडीमा राखेर दमकतर्फ लैजाँदै गरेको अढाई क्वीन्टल पंगास माछाको भुरासहित गाडी नियन्त्रण लिएको थियो ।
त्यस्तै गत वैशाख १७ गते गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीबाट मे१ज ३०१६ नम्बरको पिकअप गाडीमा लोड गरिएको दुई क्वीन्टल पंगास माछाको भुरा नियन्त्रण लिएको थियो । नियन्त्रणमा लिएका माछाको भुरालाई नष्ट गर्दै दुवै गाडीलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार बुझाइसकेको प्रहरीले जनाएको छ।
विषादी परीक्षण र अनुमति बिना माछा र माछाको भुरा नेपाल भित्र्याउन नपाउने अस्थायी पशु क्वारेनटाइन चेक पोस्ट भद्रपुरका प्रमुख डा. मुकेशकुमार सिंहले जानकारी दिए ।
उनका अनुसार नेपालमा पंगास र मागुर माछाको भुरामाथि सरकारले नै प्रतिबन्ध लगाएको छ । माछाको भुरालाई कानूनी प्रक्रिया पूरा गरेपनि नेपाल भित्र्याउन नपाइँने भएको बताउँदै उनले कारोबारीले अवैध बाटो प्रयोग गरी भुरा भित्र्याएकाे हुनसक्ने बताए ।
छिटो उत्पादन हुने र एउटा मात्र ठूलो काँडा हुने पंगास माछाको झापा र इलामका माछा पोखरीमा माग बढ्दो रहेको बताउँदै उनले अहिले यी दुवै जिल्लाका माछा पोखरीहरूमा पंगास माछा नै बढी मात्रामा उत्पादन भइरहेको जानकारी दिए ।