उदयपुर
उदयपुरमा कोरोना भाइरसबाट कार्यालय प्रमुखसहित तीन जनाको मृत्यु भएको छ । सोमबार बेलुका र मंगलबार बिहान ३४, ५४ बर्षिय पुरुष र ५० बर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।
यो सँगै मृतकको संख्या उदयपुरमा सात पुगेको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइका अनुसार कोरोना भाइरसको संक्रमणपछि काठमाण्डौँको टिचिङ्ग अस्पतालमा उपचारको क्रममा कार्यालय प्रमुखको सोमबार मृत्यु भएको हो । सिरहा निवासी उनी कार्यालयबाटै संक्रमित भएपछि उपचारका लागि काठमाण्डौँ पुगेका थिए ।
त्यसैगरी कोरोनाबाट संक्रमित भएका त्रियुगा नगरपालिका ८ का ५४ बर्षिय पुरुषको विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो । ज्वरो र रुघाखोकी लागेपछि उपचारका लागि अस्पताल आएका उनलाई कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि वार्डमा भर्ना गरी उपचार गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । बैशाख २३ गते अस्पतालमा भनाए भएका उनको मंगलबार बिहान बिहान ५ः१५ मा मृत्यु भएको उनले बताए ।
त्यसैगरी कोसी अञ्चल अस्पताल कोभिड फोकलपर्सन वैजनाथ साहका अनुसार त्रिनपा ५ की ५० बर्षिया महिलाको उपचारको क्रममा मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएकी उनको श्वासप्रश्वासमा समस्या देखिएपछि २६ गते कोभिड अस्पतालमा भर्ना गरिएको उनले बताए ।
उनको मंगलबार बिहान १ः३० बजे मृत्यु भएको उनले बताए । मृतकको शव उदयपुर प्रशासनसँग समन्वय गरी पठाउने तयारी भईरहेको उनले बताए । कोरोना रिपोर्ट पोजिटिभ आउनुका साथै श्वासप्रश्वासमा पनि समस्या भएपछि उनीहरुलाई उपचारकालागि अस्पताल भर्ना गरिएको थियो ।
प्रजिअ सेडाइले विराटनगरबाट दुबैको शव आएपछि शव व्यवस्थापन टोलीले शवको व्यवस्थापन गर्ने बताए । यसैविच जिल्लामा कोरोना भाइरसको संक्रमितको संख्या दुई सय ३९ पुगेको छ । त्यसमध्ये पुरुष एक सय ३५ र महिला एक सय ४ रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुबेदीका अनुसार सोमबार ३३ जना महिला र २७ जना पुरुषमा संक्रमण देखिएको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय