तुलसी निरौला, झापा
कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय झापाले भारतसँग जोडिएको खुला सीमा क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गर्दै नाका सिल गरेपनि नाकाबाट हुने अवैध कारोबार भने अझै रोकिएको छैन ।
सशस्त्र प्रहरीले झापाकाे ज्यामिरगढी नाकाबाट १० लाख रुपैयाँ भन्दाबढीको भन्सार छलेको कपडा र झापाकाे कचनकवल गाउँपालिका १ स्थित तोरीवारिबाट एक सय कार्टुन चाइनिज स्याउ बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर हेड क्वाटर गण झापाले जनाएको छ ।
सीमा पिलर १२२ नजिकैबाट चाइनिज स्याउको तस्करी भइरहेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट घेरावारि खटिएको प्रहरी टोलीले सो परिणामको स्याउ बरामद गरेको हो । ट्याक्टरमा हालेर सीमातर्फ स्याउ लगिरहेको सूचना पाएपछि बिओपी घेराबारीसहित केचनाको टोली पनि घटनास्थल पुगेको थियो । संयुक्त टोलीले बरामद गरेको स्याउको मूल्य ८० हजार रहेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर हेड क्वाटर गण झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए ।
बाटैबाट स्याउ बरामद गरिएको कारण ट्याक्टर छाडिदिएको जनाइएको छ ।
पछिल्लो समयमा झापाकाे केचना, घेरावारि, टाघनडुब्बा नाकाबाट ठुलो परिणामको चाइनिज स्याउको तस्करी भइरहेको बताइएको छ ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ज्यामिरगढीबाट खटिएकाे टोलीले ठुलो परिणामको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल भित्राइएको कपडाका पोकाहरूलाई सशस्त्र प्रहरीले सीमा नाकाबाटै बरामद गरेको गणका एसपी पाण्डेले बताए । तस्कर समूहले मेची नदी तैरिएर टाउको हालेर सो कपडाका बोराहरू ल्याउने गरेको थियो।
बरामद गरिएको कपडाका पोकाहरूमा साडी, जिन्स पेन्ट, कुर्ती, कुर्ता सुरुवाल, लेगिज लगायत सामान रहेको र बरामद गरिएको कपडालाई भद्रपुर भन्सार कार्यालय बुझाइसकेको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै कचनकवल गाउँपालिका ५ पाठामारीबाट सशस्त्र प्रहरीले लागु औषध बरामद गरेको छ । सीमा नाकामा बिओपी पाठामारीबाट खटिएको टोलीले गस्ती गरिरहेको र सोही समयमा एक जना व्यक्तिले सशस्त्रलाई देख्न साथ झोला राखेर भागेका थिए । सशस्त्रले त्यस झोलालाई खोलेर हेर्दा गाँजा, सिरप र लागु औषध ट्याब्लेट बरामद गरेको जनाइएको छ ।