काठमाडौं, चैत्र १३

धनुुषाका सुनील साह सानैदेखि पढाइमा अब्बल थिए । डाक्टर बन्ने सपना पलायो । डाक्टर पढ्न धरानमा परीक्षा दिँदा साहले आंशिक छात्रवृत्ति पाए । तर, त्यतिले उनको सपनाको उडान भर्न पुग्दैनथ्यो ।

उनी सन् २०१४ मा पढ्नको लागि चीन गए । सबै कुरा ठिक थियो । पढाइमा तेज उनी त्यहाँ पढाइ सकेर घर आउने तरखरमा थिए । तर, कोभिड–१९ को महामारी सुरु भयो । महामारीका कारण चीनमा बस्न डर भयो । उनी अरु साथीसँगै घर फर्के । घर फर्कँदा भविष्य नै अन्योलमा पर्ला भन्ने सोचेकासम्म थिएनन् । अहिले चीनले विद्यार्थी भिसा रद्द गरिदिएको छ भने इन्टर्नसिप अनलाइनमा मात्र गर्न दिएको छ । साहको नौ महिना इन्टर्नसिप बाँकी छ ।

साह र उनीसँगै बिचल्लीमा परेका साथीहरु गएको आइतबारदेखि दिनहुँ नेपाल मेडिकल काउन्सिल (एनएमसी)अगाडि प्लेकार्ड बोकेर धर्ना दिइरहेका छन् । उनीहरुको एउटै माग छ, “नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउनुुपर्यो । निःशुल्क दूरदराजमा गएर दोब्बर समय नै काम गर्न तयार छौँ ।”

चीनमा एमबीबीएस पढ्न गएर अन्तिम वर्षको इन्टर्नसिप गर्दागर्दै फर्केका १५२ विद्यार्थी १४ महिनादेखि आफ्नो भविष्यलाई लिएर अन्योलमा परेका हुुन् । सन् २०१४ को इन्टन ब्याचका उनीहरु आठ महिनादेखि सम्बन्धित निकायलाई आफ्नो अवस्थाबारे अवगत गराइरहेका छन् ।

चीनको अस्पतालमा इन्टर्नसिप गरेका सम्मुुज्वल श्रेष्ठ मास्क अभाव भएपछि इन्टर्नसिपलाई निरन्तरता दिन नसकेको नेपाल फर्केको बताउँछन् । “हस्पिटलमा इन्टर्नसिप गर्न मिल्दैन, अनलाइन गर भने, हामीले मान्यौँ । यहाँ आएपछि एनएमसीले अनलाइन इन्टर्नसिप नमान्ने कुुरा गर्यो । हुन त इन्टर्नसिप अनलाइन गर्ने कुरा होइन । तर, हाम्रो भविष्यबारे नि त सोचिदिनुपर्यो,” उनले भने ।

चीनमा नै गएर इन्टर्नसिप गर्नको लागि विद्यार्थीले परराष्ट्र मन्त्रालय गुहारे । मन्त्रालयले पठाउन नसक्ने जनायो । त्यसपछि चिनियाँ दूतावाससँग कुरा हुँदा उसले पनि तत्काल नमिल्ने जानकारी गराएको विद्यार्थीको भनाइ छ । चीनबाट फर्केका एमबीबीएसका अन्तिम वर्षका विद्यार्थी अलपत्र परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय